बलीको बिस्कुन बन्ने संघारमा गढीमाई

कपन अनलाइन२०७१, मंसिर ६

एसियाकै सबैभन्दा बढी पशु बली दिने स्थल अर्थात् गढीमाईको मेला सुरु हुनैलाग्दा पशु बलीका विषयमा लिएर विवादहरू उठिरहेका छन् । बारा जिल्लामा अवस्थित गढीमाईमा हरेक पाँच वर्षमा दुई दिने मेला लाग्ने भएतापनि उक्त दुई दिनको अवधिमा पाँच लाखभन्दा बढी पशु बली दिइन्छ । गढीमाईमा पशु बली दिन नेपालका विभिन्न ठाउँलगायत भारतका बिहार, उत्तर प्रदेश लगायतका विभिन्न ठाउँबाट मानिसहरूको ओइरो लाग्ने गरेको छ ।

51bm-parsa-gadimai

भारतको सर्वोच्च अदालतले केही समयअघि नेपालतर्फ अवैधानिक रुपमा हुँदै आएको पशु निर्यात रोक्न आदेश दिएका कारण यो वर्षको गढीमाई मेलामा पशु बली कम हुन सक्ने बताइएको छ । एकै परिवारबाट एकभन्दा बढी बली दिने मेलामा पछिल्लो समय बाराका अलावा अन्य स्थानहरूमा समेत बली दिने गरेको स्थानीयहरू बताउँछन् । गढीमाईमा दिइने पशुबलीमध्ये ७० प्रतिशत पशु भारतीय भूमिबाट आउने र बाँकी ३० प्रतिशत नेपाली भूमिका हुने प्रारम्भिक सर्वेक्षणमा जनाइएको छ ।

 

मेलामा पाँच लाखभन्दा बढी मानिस उपस्थित हुने मेला व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र झाले बताए । उनले थपे, “पशुबलीको विषयमा जे जति बहस भएतापनि यसलाई न विगतमा रोक्न सकियो न त अब नै रोक्न सकिन्छ । भक्तजनहरू आफ्नो आस्थाका कारण गढीमाई मेलामा सरिक हुने हुँदा यसलाई अहिलेनै नियन्त्रणमा लिन सकिँदैन ।” मेलाको व्यवस्थापनका लागि २८ हेक्टर जमिनको व्यवस्था गरिएको छ जसमा पसल, स्टल, सर्कस र अन्य मनोरञ्जनात्मक स्थानहरूको व्यवस्था हुने जानकारी समितिका सचिव मोतीलाले गराए । अघिल्ला मेलाहरूमा जस्तै यस वर्ष आउँदो सोमबारदेखि सुरु हुने मेलामा पशु बली नदिन चेतना फैलाउने उद्देश्यले विभिन्न संघसंस्था लागि परेका छन् ।

तपाइँको प्रतिक्रिया ।