यौनको प्यासमा विदेश

कपन अनलाइन ३ मंसिर, २०७१

बेलायतमा दश प्रतिशत मानिसहरू यौनक्रियाकलापका लागि ठूलै रकम खर्च गर्छन् । तिनीहरूमध्येका पनि एघार प्रतिशत मानिसहरू त पर्यटकलाई लक्षित गरेर तोकिएका बेङ्कक, आमस्र्टडमजस्ता विदेशी भूमिमा रहेका रेडलाइट एरियाहरूमा जाने गरेको एक अध्ययनले जनाएको छ ।

मिडियाहरूका अनुसार यौनजन्य क्रियाकलापका लागि खर्च गर्ने समूह यसका अलावा रक्सी, लागुऔषध र अन्य जटिल तथा जोखिमपूर्ण काममा लाग्ने गरेको बताइएको छ । यस्ता कार्यमा पाको उमेरका एकल मानिसभन्दा युवापुस्ता बढी रहेको जनाइएको छ ।
“वर्षेनि धेरै मानिसहरू आफ्नो कमाइको धेरै हिस्सा रकम खर्चेर विदेशी भूमिमा यौनजन्य क्रियाकलापमा संलग्न हुनुका साथै यौनजन्य रोगहरूबाट पीडित भएर फर्कने गरेका छन्”, विश्वविद्यालय कलेज लन्डनमा अध्ययनरत एक विद्यार्थी टोलीले यौन विश्लेषण र जीवनशैलीका बारेमा गरेको तेस्रो राष्ट्रिय सर्वेक्षणमा भनिएको छ ।
दम्पतीहरूमा सन् १९९० को दशकमा भन्दा कम शारीरिक समागम हुने तथ्य बाहिर आएपछि गरिएको यो अध्ययनले विदेशमा गएर आफ्नो कमाइ यौनजन्य क्रियाकलाप गर्नमा खर्च गर्ने तथ्य बाहिर आएको हो । १६—७४ वर्ष उमेर समूहमा गरिएको सर्वेक्षणमा ०.०१ प्रतिशत महिला सेक्सको लागि रकम भुक्तान गर्ने देखिएको थियो भने पुरषहरूको हकमा ११ प्रतिशत सेक्सको लागि रकम भुक्तान गर्ने भेटिएका थिए । किशोरहरूभन्दा ३० वर्षमाथिका युवाहरू यौनसम्बन्धी क्रियाकलापमा खर्चिलो पारामा लागेको जनाइएको छ । अन्य उमेर समूहको तुलनामा २६ देखि ३४ वर्ष उमेर समूहका युवाहरूले दोब्बर यौनसाथीहरू बनाइसकेको खुलासा भएको थियो ।
“के वेलायतमा खुला शारिरीक सम्बन्ध रोक्न सकिँदैन ?” भन्ने प्रश्नमा खोजमा संलग्न डाक्टर मेर्सरले भने, “हामीले उनीहरूलाई धेरैसँग शारिरीक सम्बन्ध राख्दा हुने संक्रमण र त्यसको दीर्घकालीन असरका बारेमा स्पष्ट पार्न सकेमा यौनमा केही हदसम्म भुक्तान गर्ने क्रम कम हुनेछ ।” उनले थपे, “अवैध यौन क्रियाकलापमा संलग्न युवावर्गलाई सुरक्षित रहनका लागि कण्डम प्रयोग र समय समयमा जाँच आवश्यक हुन्छ । हामीले उनीहरूलाई सकभर आफ्नो पार्टनरसँग मात्र सम्बन्ध राख्न सल्लाह दिन्छौँ अन्यथा सुरक्षित साधनहरूको प्रयोग गर्न बल गनेछौँ ।”

तपाइँको प्रतिक्रिया ।