रिलायन्स साहित्य सम्मेलन सम्पन्न, प्राध्यापक बन्धु सम्मानित

कपन अनलाइन३० कार्तिक, २०७१

रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजले १०५ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही कात्तिक २९ गते शनिबार आयोजना गरेको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत प्रा.डा. चूणामणि बन्धुलाई सम्मानित गरेको छ । वरिष्ठ साहित्यकार तथा नेपाल एकेडेमी पूर्व उपकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न  कवि गोष्ठीमा वरिष्ठ भाषाशास्त्री, साहित्यकार तथा समालोचक प्रा.डा. चूडामणि बन्धुलाई रू.२०,०००।– राशीको रिया साहित्य स्रष्टा सम्मान अर्पण गरियो । रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि  डा. शैलेन्दु प्रकाश नेपाल र प्रा.डा. कुमार बहादुर जोशीलाई प्रदान गरिसकिएको छ ।

वरिष्ठ साहित्यकार प्रा.डा. चूणामणि बन्धुलाई सम्मान अर्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँला (दायाँ) र रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापा (बीच)
वरिष्ठ साहित्यकार प्रा.डा. चूणामणि बन्धुलाई सम्मान अर्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँला (दायाँ) र रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापा (बीच)

काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको  समारोहमा कविहरू मित्रलाल पँगेनी, विजय चालिसे, आर.एम. डंगोल, सुमन दाहाल, गोपाल नेपाल, केशवराज पाठक लगायत नयाँ प्रतिभाहरूले समेत कविता वाचन गरेका थिए ।  सम्मानित  स्रष्टा प्रा.डा. चूणामणि बन्धुले देवकोटाको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गर्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गरे । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले लक्ष्मीप्रसादको कृतिलाई लिएर वर्षेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरे । प्रमख अतिथिले विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताए।

उपत्यकाका ३० विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता २८ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट पाँच वक्ताहरू छानिएका थिए र २९ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबीच पाँच प्रतियोगीहरूबीच अन्तिम प्रतिश्पर्धा गराइएको थियो । प्रतियोगितामा नेपाल वेद विद्याश्रमका छात्र अतूल पौडेल प्रथम, बसुन्धरा नेसनल एकेडेमीकी छात्रा रोशनी वि.क. द्वितीय, हेम्स स्कुल, रातोपुलकी छात्रा सम्पदा श्रेष्ठ तृतीय तथा अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी छात्रा एन्जिला अधिकारी र बौद्ध चिल्ड्रेन हेभन बोर्डिब स्कुलकी छात्रा अम्बिका कठायत क्रमशः चौथो र पाँचौ स्थान प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।