कपनमा नेपाली कांग्रेस अरु पार्टीभन्दा निकै मजबुत अवस्थामा छ – विनोद चालिसे, सभापति – कपन कांग्रेस

कपन अनलाइन ०७० पुष ०२ गते

काठमाडौं क्षेत्र नं. ४ बाट गगनकुमार थापाले अत्याधिक मतले बिजयी हुनुमा कपन गाविसबाट ठूलो मात्रामा उनको पक्षमा खसेको मत प्रमुख रह्यो । यस गाविसबाट रुख चिन्हमा करिब ७००० मत खसेपछि कपनमा नेपाली कांग्रेस अत्याधिकरुपमा मजबुत रहेको बताइन थालेको छ । यहि मतको आधारमा आगामि स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस सजिलै बिजयी हुने आंकलन एकतिर छ भने अर्कातिर संबिधानसभाको मत गगन थापाको व्यक्तिगत इमेजको कारण आएकोले यसलाई स्थानीय निकायको निर्वाचनसँग दाँजिन नहुने तर्क एकातिर छ । यिनै प्रसंगको सेरोफेरोमा नेपाली कांग्रेस कपन इकाइका सभापति विनोद चालिसेले कपन अनलाइनका सम्पादक केशव पाठकसँग गरेको वार्तालापः

 

कपन अनलाइनः चुनाव जितीसकेपछि कपनमा गरिएको बिजयी घरदैलो कस्तो भयो ?

 

विनोद चालिसेः यो घरदैलो चुनाव जितीसकेपछि पनि जनतासँग सँगै छौं भन्ने किसिमको सन्देशका लाागि गरिएको थियो । चुनाव जितेपछि संबिधानसभा सदस्यको रुपमा आर्शिर्वादका लागि बिजयी घरदैलो गर्ने सभासद् स्वयम् तथा नेपाली कांग्रेस क्षेत्र नं. ४ को कार्यक्रमअन्तर्गत गरिएको बिजयी घरदैलोमा कपनवासीको सकृय सहभागिता थियो ।

 

कपन अनलाइनः चुनाव अघि घरदैलो गर्दा कार्यकर्ता तथा शुभेच्छुकको व्यापक सहभागिता रह्यो तर बिजयी भैसकेपछिको घरदैलोमा त्यो रौनकता देखिएन, किन यस्तो भयो ?

 

विनोद चालिसेः चुनाव प्रचारको बेला बिजयी गराउन सबै कार्यकर्ता, शुभेच्छुक तथा समर्थक सडकमा थिए । चुनाव जितीसकेपछि सबैजना आफै घरघरमा सभासद्लाई स्वागत् गर्न बसेकाले पनि उपस्थिति कम भएको हो । हामी आयोजकले पनि चुनावमा जस्तो सबै कार्यकर्तालाई उपस्थिति हुन अनिवार्य गरेका थिएनौ । त्यसको अलावा कपनमा भएको बिजयी घरदैलो चुनाव जितेको धेरैपछि भएकोले पनि उपस्थितिमा कमी देखिएको हुनसक्छ ।

 

कपन अनलाइनः गगन थापाले यस क्षेत्रबाट चुनावजित्दा कपन गाविसबाट अत्याधिकमात्रमा मत पाएको देखिन्छ । करिब ७००० हाराहारीको मत कपन गाविसबाट गगन थापालाई खस्ने आंकलन थियो तपाइँहरुको ?

 

विनोद चालिसेः जनताले नेपाली कांग्रेसप्रति देखाएको विशाल आस्थाको परिणाम हो । कपनमा नेपाली कांग्रेसको संगठन पनि अरु पार्टीको तुलनामा निकै सुदृढ छ साथै हाम्रा उम्मेदवार लोकप्रिय हुनका कारण पनि यति धेरै मत आएको हो । र एमाओवादीबाट जनता यति रुष्ट भएका थिए कि एमाओवादीका कार्यकर्ता भनिएकाले पनि हामीलाई भोट हाल्ने वातावरण बन्यो ।

 

कपन अनलाइनः चुनाव अघि कपनबाट नेपाली कांग्रेसले ५००० को हाराहारी मत पाउने आंकलन गरेको थियो । मतपरिणामम ७००० भन्दा बढि मत आएको देखिनुमा धेरैले गगन थापाको व्यक्तिगत क्रेजका कारण आएको बताइरहेका छन् । संगठनका कारणलेभन्दा व्यक्तिगत कारणले बढि भोट आएको भन्ने कुरा मान्नुहुन्छ ?

 

विनोद चालिसेः विगतको चुनाव र अहिले चुनावको मत अन्तर देखिनुमा धेरै कारण छन् । मुख्य कुरा पहिलो संबिधानसभापछि हाम्रो संगठन अत्यन्त प्रभावशाली बनेको छ । यति धेरै नेपाली कांग्रेसका कार्यकर्ता भएका छन् कि इकाइअन्तर्गतका सानासाना समिति, भातृ संगठनलगायतका संयन्त्रमा पनि कार्यकर्ता अटाइ नअटाइ भएको अवस्था छ । त्यस्तै एमाओवादीका हावादारी संगठन थियो जसलाई हामीले ठूलो संगठन भनिरहेको थियौं । एमाओवादीको कपनमा २००० भन्दा कम मत आउनु भनेको जनताको आशा र भरोसा नेपाली कांग्रेसमा रहनु भन्ने नै हो । त्यसमाथि अरु उम्मेदवारका तुलनामा हाम्रा उम्मेदवार लोकप्रिय रहेकाले सबैको ध्यान गगन थापामै अडेकोले बढि भोट आएको हो ।
कपन अनलाइनः कपनकै बालउद्धार बुथमासमेत नेपाली कांग्रेसले धाँधली गर्यो भनेर एमाओवादीका प्रत्यासी नन्दकिशोर पुनले अदालतमा उजुरी गरेका छन् । गगन थापाले चुनाव जित्दा कपन गाविसबाट ल्याएको करिब ७ हजार भन्दा बढि मत त विवादमा पर्यो नि ?

 

विनोद चालिसेः पासाङजीले अदालतमा उजुरी गरेको भन्ने जुन खबर आएको छ, मलाइचाहिँ उहाँले जनताको मतादेशलाई सम्मान गर्न नसकेको जस्तो लाग्छ । हारपछिको पराजित मानसिकताबाहेक यो उजुरी केही हैन । बालउद्धार बुथ नेपालकै सबैभन्दा ठूलो बुथ भएकोले सबैको ध्यान त्यहाँ थियो । जहाँ देशविदेशका चुनावी स्वयम्सेवक तथा मिडियाहरु हरपलका अवस्थामा अपडेट गरिरहेका थिए । त्यस्तो ठाउँमा चुनाव धाँधली भयो भन्नु पाराजित मानसिकता सिवाय केही हैन । हरेक बुथमा डमि उम्मेदवारका नाममा बुथभरी एमाओवादीका कार्यकर्ता मात्रै देखिन्थे । चुनावपछिको मुचुल्का उठाउँदा एमाओवादीका कार्यकर्ता अरु पार्टीकाभन्दा धेरै नै थिए । त्यतिमात्र नभएर मतपेटिका पुर्याउन जाँदा पनि सबैभन्दा धेरै एमाओवादीकै कार्यकर्ता गाडीमा तँछामछाड गर्दै चढेका थिए । एमाओवादी तथा पासाङको हार स्वीकार्न नसक्ने मनस्थिति मात्र हो यो । जनताको मन नजिती मत आउँदैन भन्ने कुरा उहाँहरुले बुझ्न सक्नु पर्छ ।

DSC_0179

कपन अनलाइनः स्थानीय निर्वाचन पनि चाँडै नै हुने सम्भावना देखिएको बेला संबिधानसभाको निर्वाचनपछि कपनमा नेपाली कांग्रेस निकै बलियो देखियो, यो बलियोपन स्थानीय निर्वाचनमा देखाउन सक्ला कपन कांग्रेसले ?

 

विनोद चालिसेः नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा एकवर्षभित्रमा स्थानीय चुनाव गरिसक्ने बताए अनुरुप नै चाँडैनै चुनावको संभावना खोजिएला जस्तो छ । कपनमा संगठन  र जनाधारका हिसाबले हामी अरु पार्टीभन्दा निकै नै मजबुत भएको अवस्थामा छौं । नेपाली कांग्रेस कपन स्थानीय चुनावमा आफूलाई बहुमतसहितको बिजेता पार्टीको रुपमा हेरिरहेको छ । हाम्रा सबै भातृ संगठनदेखि वडावडाका साना साना इकाइहरु पनि सकृय रहेको बेला कपनमा नेपाली कांग्रेस अत्यन्तै मजबुत रहेको अवस्था हो । संबिधानसभामा आएको मतलाई स्थानीय चुनावसम्म जस्ताको तस्तै उपयोग गर्न सकिने अवस्था छ ।

 

कपन अनलाइनः स्थानीय निर्वाचनको लागि कपन नेपाली कांग्रेसमा धेरै प्रत्यासी हुन सक्ने व्यक्तिहरु देखिन्छन् । संगठन पनि बलियो भनिएको अवस्थामा कपन नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि के सोचिरहेको छ ?

 

विनोद चालिसेः स्थानीय विकास निर्माणका सबालमा हामी पहिलेदेखि नै सचेत छ । कपनको विकासमा नेपाली कांग्रेस मेरुदण्ड भएकोले पार्टीले जसलाई उम्मेदवारी दिए पनि जितिने अवस्था रहेको छ । कपन नेपाली कांग्रेसले अन्य दलहरुसँग पनि सहकार्य गरी विकासको खाका बनाएर कसरी समुन्नत कपन बनाउने भन्ने विषयमा सकृय रहेको अवस्थामा अरु अन्य दल पनि हाम्रा कार्यकुशलतप्रति नतमस्तक भएको अवस्था भएको स्थानीय निर्वाचनका लागि हामी सक्षम दावेदार हौं । हाम्रो सांगठिनक मजबुति र अरु दलहरुको संगठन कमजोर हुनु पनि हामीलाई स्थानीय निर्वाचनमा जीत दिलाउने गतिलो आधार बनेको छ ।

 

कपन अनलाइनः सांगठिन रुपमा राम्रो भए पनि स्थानीय निकायको निर्वाचनमा धेरै प्रत्यासी भएका कारण कसले टिकट पाउने भन्ने विषयले नेपाली कांग्रेसभित्र घात अन्र्तघात हुने सम्भावना बढि मानिन्छ । कपन नेपाली कांग्रेसले अहिलेदेखि नै यो उम्मेदवार भनेर जाने अवस्था छ ?

DSC_0300

विनोद चालिसेः नेपाली कांग्रेस आफैमा एउटा ठूलो संगठन हो । कपनमा नेताहरु तथा कार्यकर्ता लेबल ठूलो देखिए पनि प्रजातन्त्रमा व्यक्तिभन्दा पनि संस्था ठूलो हुन्छ । हामीले संस्थालाई अगाडि लैजाने हो । व्यक्तिगत मान्यता खासमा महत्वपूर्ण हुँदैन । पार्टी सर्वाेपरी हो । कपन कांग्रेसमा कसले टिकट पाउने भन्ने विषयले घातअन्र्तघात हुने सम्भावना म देख्दिन । विशाल जनसंख्या भएको कपन गाविसमा सबैको भावना, मर्म र आवाजलाई मुखारित हुने उम्मेदवार हामीले छान्नेछौँ । सबै टिकटका संभावित प्रत्यासीसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने छौं ।

 

कपन अनलाइनः अब हुनसक्ने स्थानीय निकायको निर्वाचनमा तपाई आफूचाहिँे गाविस अध्यक्ष चुनावमा भाग लिने सम्भावना कति छ ?

 

विनोद चालिसेः नेपाली कपन इकाइ सभापति भएको नाताले आउँदो चुनावमा यस गाविसको अध्यक्षको चुनावी अभियानमा भाग लिने इच्छा छ मेरो । अरु साथीहरुको यो चाहना हुन सक्छ । धेरै ठूलो नेता तथा कार्यकर्ताको लाइनअप छ कपनमा । कसको उम्मेदवारी भए राम्रो हुन्छ भन्ने कुरा पार्टीले बुझेर चुनावी अभियानमा खटाउनेछ । व्यक्तिभन्दा संस्था ठूलो हुने हुँदा पार्टीले दिने जिम्मेवारीलाई म महत्वको विषय मान्दछु । त्यसैले जसले टिकट पाए पनि भावनात्मक हिसाबले नेपाली कांग्रेसलाई महत्वको विषय बनाएर अगाडि बढ्ने वातावरण बनाइनेछ । बहुमतका साथ कपनमा जित्ने किसिमको वातावरणलाई अझै प्रभावकारी बनाउन कपन इकाई सभापति भएको नाताले म सदा तयार छु ।

 

कपन अनलाइनः संबिधानसभाको निर्वाचनमा कपनका अरु स्थानीय नेताको तुलनामा तपाईको गगन थापासँगको बसउठ धेरै देखियो । यसै कारण पनि अब हुने भनिएको स्थानीय निर्वाचनमा तपाइँले गगन थापासँगको निकटताको कारण पनि गाविस अध्यक्षको टिकट पाउने अनुमान गरिन थालिएको छ । तपाइँ योजनाबद्धरुपमा गाविस अध्यक्षको टिकटका लागि पनि गगन थापाको निकट रहनु भएको हो त ?

 

विनोद चालिसेः मेरो व्यक्तिगत खटाइका कारण हैन सबै कपनवासीको खटाइको कारण हामीले कपनबाट ठूलो मतका साथ गगन थापालाई विजयी बनाउन सकेका हौं । यसमा मेरो कुनै निकटता भन्ने केही छैन । मैले आफूलेमात्र जस पाउँ भन्ने गरी कुनै काम गरिन पनि । हाम्रा सभासदले पनि सबै कपनका नेता तथा कार्यकर्तालाई समान दृष्टिले हेर्ने गरेको मैले पाएको छु । कपनका सबै कार्यकर्ताको सोचाई अनुरुपको उम्मेदवारहरु कपन इकाइले क्षेत्रीय समितिलाई पठाउनेछ । क्षेत्रले पनि कार्यकर्ताको चाहना अनुरुपकै व्यक्तिलाई टिकट दिनेछ । यद्यपि स्थानीय निकायको चुनावको कुनै मिति नतोकिएको अवस्थामा गाविसको चुनावको कुरा गर्नु अलि छिटो पनि हुन्छ होला तर जसरी कपनका सबै नेता कार्यकर्ता, समर्थक तथा सुभेच्छुकले हाम्रा सभासद गगन थापालाई जिताउन दिलोज्यान दिए त्यही किसिमको अग्रसरता र तत्परता आगामी दिनमा पनि आश गरेको छु । संबिधानसभाको निर्वाचनमा भोकप्यास नभनि चुनावी मोर्चामा खटिने सबै कपनका नेता, कार्यकर्ता, समर्थक, सुभेच्छुक एवम् आम जनतामा हार्दिक धन्यवाद् व्यक्त गर्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।