'यात्री सर' को प्रथम वार्षिक पुण्य तिथि

 

कपन अनलाइनमंसिर २६ गते

-केशव पाठक

नेपाली भाषा, साहित्यका सेवामा निरन्तर ६ दशक सेवा गर्नु भएको साहित्यकार, अन्वेषक एवम् मानवशास्त्री पूर्णप्रकाश नेपाल यात्रीको आज वार्षिक पूण्य तिथि हो । करिब ३ दशक काठमाडौंको कपनमा स्थायी बसोबास गर्नु भएका यात्री सर समाजसेवीको रुपमा परिचित हुनुहुन्थ्यो । कपनमा शिक्षा  क्षेत्रको विकासमा उहाँको विशेष योगदान थियो । ग्रामशिक्षा माविमा केही वर्ष उहाँले स्वयंसेवी शिक्षकको रुपमा अध्यापन गराउनु भएको थियो भने कपन साहित्य समाज र कपन संगीत सरोवरलगायत लगायत संस्था संरक्षक पनि हुनुहुन्थ्यो । कपन साहित्य समाजलाई उचाइमा पुर्याउने ठूलो इच्छा थियो उहाँको ।  कपन क्षेत्रमा यात्री सरका रुपमा परिचित उहाँ कपन गाविस वडा नं. १ फैकामा बस्नुहुन्थ्यो । उहाँको बाँकी परिवार अहिले पनि यही घरमा बस्दछन् । ०६९ पुष ५ गते निधन हुनु भएका यात्री सरका नेपाली भाषा साहित्यका करिब ७५ वटा पुस्तकहरु प्रकाशित छन् । कपनको पहिलो परिचयात्मक ग्रन्थ ‘कपन दर्पण’ उहाँले सम्पादन गर्नु भएको थियो ।

 

वि.सं. १९९१ मा भोजपुरको कटुञ्जेमा डिट्ठा कृष्णप्रसाद नेपालका सत्रौं सन्तानको रुपमा जन्मनु भएको थियो । उहाँको आमाको नाम हरिप्रिया नेपाल थियो भने बुबा ज्योतिषाचार्य हुनुहुन्थ्यो । आफ्नो बुबा ८१ वर्षको हुँदा उहाँ जन्मनु भएको थियो ।  नेपालको सबै जिल्ला भ्रमण गर्नु भएको  यात्री सरले मानवशास्त्रमा स्नातकोत्तर र कर्मकाण्डमयी(भारत) गर्नु भएको थियो । उहाँलाई यात्री उपनाम योगी नरहरिनाथले दिनु भएको थियो ।यात्री सरले अनुसन्धान, अन्वेषण र बाह्रवर्ष यात्रा गर्ने पे्ररणाको स्रोत डाक्टर श्याम चैतन्य ब्रहृमचारीलाई मान्नुहुन्थ्यो भने दोस्रो पे्ररणाका स्रोत पण्डित छविलाल पोखरेल, त्यसैगरी भाषाशास्त्री महानन्द सापकोटा, तत्कालीन अञ्चलाधीश बद्रीविक्रम थापालाई पनि आफ्नो साहित्यिक र भाषिक यात्राको पे्ररक व्यक्तित्व मान्नुहुन्थ्यो ।

 

मानवशास्त्रीय र समाजशास्त्रीय पक्षबाट देशका विविध जातजाति, भाषाभाषिका र इतिहास संस्कृतिको गहन अध्ययन अन्वेषण गर्नु भएका यात्री सरको पहिलो कृति ‘वर्णाश्रम व्यवस्था किन’ ? नामक निबन्ध थियो । यो निबन्ध २००८ सालमा वाराणसीबाट प्रकाशित भएको थियो । समाजसुधार र सामाजिक क्रान्तिका लागि गाउँमा पुराण भन्ने र बुझाउने, आफैँ हलो जोत्ने, ढाकर बोक्ने तथा अन्य बाहुन, क्षेत्रीलाई पनि लगाउने यात्री सर अपरिग्रही जीवन वृत्तलाई अपनाउने एक तपस्वी हुनुहुन्थ्यो । २००८ साल अर्थात् १७ वर्षदेखि साहित्य सिर्जनामा लाग्नुभएका यात्री सरका  ऐतिहासिक वृहत् महाकाव्य ‘सिजापतिवाला’ लगायत करिब ७५  वटा कृति प्रकाशित भएका छन्  । भनिन्छ यात्री सरसँग  अझै २५१ वटा रचनाका पाण्डुलिपिको रूपमा  रहेका छन् ।

 

‘वसुधैव कुटुम्बकम्’ को जीवनदर्शनलाई आत्मसात गर्दै सादा जीवन र उच्च विचारको आदर्श बोकेर सारा नेपालीको जातीय अस्मिता खोजी गर्नु आफ्नो अभिष्ट मान्ने यात्री सर देशप्रति इमान्दार, आफूप्रति आस्थावान, समाजप्रति सेवापरायण रहनु भाषा र साहित्यसेवीको कर्म हो भन्नुहुन्थ्यो । त्यस्तै चारित्रिक विशुद्धताका लागि सामाजिक विसङ्गति औँल्याएर शोषण, दोहन र दमनको विरोध गर्नुलाई उहाँ आफ्नो साहित्यिक आदर्श मान्नुहुन्थ्यो  ।

 

नेपाली भाषा साहित्य, इतिहास र संस्कृतिका विशिष्ट अन्वेषक  यात्री  सर जीवनका हरेक तिता पलहरू बीच पनि हाँस्दै, मीठा पलहरूसँग रमाउँदै, विभिन्न रोगहरूसँग पौंठेजोरी खेल्दै, आँखाको ज्योतिसँग लुकामारी गर्दै ७९ वर्षको उमेरसम्म अविच्छिन्न रूपमा भाषा र साहित्यको क्षेत्रमा  यात्रा गरिरहनुभयो । लामो समयदेखि नशा, मधुमेह, मृगौला रोगबाट ग्रसित यात्री सर गत वर्ष पुष ७ गते यो संसारबाट बिदा हुनु भएको थियो ।

नेपाली लोकसाहित्य, भाषा, इतिहास, संस्कृतिका अथक साधक यात्री सरप्रति कपन अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली  व्यक्त गर्दछ ।

तपाइँको प्रतिक्रिया ।