मौन अवधिमा पार्टी प्रवेश लगायतका चुनावी कार्यहरु तीव्ररुपमा जारी

कपन अनलाइनमंसिर ३ गते

मौन अवधिमा कुनै पनि चुनावी गतिबिधि गर्ने नपाउने भए पनि पार्टीहरु कोही खुलेरै त कोही चोरी छिपी नियम कानुनको अवज्ञा गरिरहेका छन् । क्षेत्र नं. ४ का एक एमाओवादी कार्यकर्ताले त नियम भनेको तोड्नै हो भन्नसमेत पछि परेनन् । सर्वाधिक चर्चित रहेको काठमाडौं क्षेत्र नं. ४ मा मौन अवधिको बेलामा हिजो मंसिर २ गते बेलुका कपन, चुनिखेल तथा चपलीबाट दर्जनौं विभिन्न पार्टीका कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको समाचार प्राप्त भएको छ ।

वैद्य माओवादी पार्टीका जिल्लासदस्यहरु सहित केही नेपाली कांग्रेसका कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको एमाओवादीका नेता सञ्जय अर्यालले कपन अनलाइनलाई बताए । उनका अनुसार घरमा गरिएको प्रवेश कार्यक्रममा कपनबाट दुई जना वैद्य माओवादीका जिल्ला सदस्यहरु सुमित्रा श्रेष्ठ र कुन्ति गुरुङ एमाओवादी प्रवेश गरेका छन् । त्यसैगरी चुनीखेल गाविसबाट वैद्य माओवादीका जिल्ला सदस्य धनराज महर्जनसहित २२ जना एमाओवादीमा प्रवेश गरेको पनि उनले जनाए । चपली गाविसबाट भोजराज नेपालीसहित २१ जना नेपाली कांग्रेसका कार्यकर्ता पनि एमाओवादीमा प्रवेश गरेको अर्यालले बताएका छन् ।

(फाइल तस्वीर)

तपाइँको प्रतिक्रिया ।