सन्दर्भ विश्व फोटोग्राफि दिवसः फोटो बिना अनलाइन पत्रकारिता असम्भव

सम्पादकीय

पत्रकारिताको पछिल्लो विकसित स्वरुप अनलाइन डिजिटल पत्रकारिता यतिखेर नेपालमा मात्र हैन विश्वभरी सबैभन्दा बढि पढिने प्रभावकारी पत्रकारिता हो । ल्यापटप, पामटप तथा स्मार्ट फोनको विकाससँगै हरेक सेकण्डमा विश्वका हरेक मानिसको हातहातमा एकैपटक समाचार पुग्नसक्ने भएकोले यो युग नै अनलाइन पत्रकारिताको युग हो ।

 

अनलाइनको विकासमा सबैभन्दा ठूलो भूमिका फोटोको रहने गर्दछ । फोटो बिना अनलाइन पत्रकारिताको यो यात्रा पूर्णतः दृष्टिविहिन मानिसजस्तो हो । फोटोको साजसज्जाबाट नै अनलाइन तथा वेबसाइटहरुका गुणस्तरको पहिलो मूल्यांकन गरिन्छ । त्यसपछि शब्दहरुको ।

 

आज विश्व फोटोग्राफी दिवस परेका सन्दर्भमा विश्वभरका तमाम फोटोग्राफरहरुलाई कपन अनलाइन हार्दिक आभार तथा धन्यवाद् दिन चाहन्छ । नेपालमा भर्खरै वामे सरिरहेको अनलाइन पत्रकारिताभित्र अझै फोटोग्राफरहरु व्यवसायिक बन्न नसके पनि विस्तारै विकासपथमा बढिरहेको अनुभव गर्न सकिन्छ । गुणस्तरीय फोटो तथा अनलाइनका आफ्नै फोटाहरु प्रकाशन गर्ने कानुनका अभावले कतिपय अवस्थामा फोटोहरुको अनधिकृत दुरुपयोग भएका घटनाहरु पनि आइरहेका छन् । अनलाइन पत्रकारिता गर्नेहरुले आफ्नै फोटोग्राफर राख्ने तथा अरुको फोटो लिनु पर्ने बाध्यतामा स्रोत उल्लेख गर्नुपर्ने नियमलाई राम्ररी पालन गर्न आवश्यक पनि देखिन्छ ।

 

कपन अनलाइन मूलतः विकास पत्रकारितामा विश्वास गर्दछ । यही क्रमको हाम्रो यात्रा व्यवसायिक बन्न नसके पनि पृथक चाहिँ रहेको छ । हामी शुरु देखि नै अरुका फोटोहरुमा आकर्षित बनेनौं । आफ्नै क्यामाराले फोटो खिच्न हामी लालयित भयौं । हाम्रो यो स्वाभिमानी क्रम अझै दरिलो यात्राको पथमा छ । हाम्रो यस यात्रामा टिममा बसेर निःशुल्क एवम् अनवरत फोटोको लागि काम गर्ने सागर बैजु, राजुविक्रम थापा, बसन्त गौतम र कपिल ढकालप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं । सागर बैजुको क्यामराले नै आज पनि हामी हाम्रा फोटो भन्न पाइरहेका छौँ । पछिल्ला दिनमा जतिखेर पनि क्यामरा बोकेर दौडिन तयार हुने राजुबिक्रम थापा र कपिल ढकाल कपन अनलाइनका गहना हुन् । त्यसैगरी कपनबाट टाढा रहेर पनि परेको बेलामा स्टिल तथा भिडियो क्यामरा बोकेर कपन अनलाइनमय बनिदिने बसन्त गौतम धन्यवादका पात्र हुनुहुन्छ । निकटभविष्यमा कपन अनलाइनले प्रस्तुत गर्न लागेको भिडियोसहितको यात्रामा पनि उहाँले यसैगरी सहयोग गर्दै हुनुहुन्छ ।    पैसामा मात्र बिक्न थालेको यो युगमा उहाँहरुको यो विशाल हृदयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।