बगलामुखी मार्गको पिच १ महिना टिकेनः पानीले दोष पायो

कपन अनलाइनकपनकै नमूना बाटो बन्यो भनेर हल्लाखल्ला गरिएको बगलामुखी मार्गको नवनिर्मित बाटो पिच गरेको करिब एक महिनामै विग्रिएको छ । कपनमा आजसम्मको पिचबाटोको इतिहासमा यस प्रकारले निर्माण गरिएको १ महिनामै बाटो बिग्रिएको यो पहिलो पटक हो । यद्यपि यसरी बाटो बिग्रनुलाई निर्माण उपभोक्ता समिति भने यसपालीको भीषण वर्षाका कारण बताइरहेको छ ।

 

यसरी ५-७ ठाउँमा पिच उप्किएको छ ।
यसरी ५-७ ठाउँमा पिच उप्किएको छ ।

लामो समयको प्रयासपश्चात न्यून बस्ति भएको यो मार्गमा बाटो पिच गर्ने कम भएको थियो । यस कार्यका लागि करिब ५ वर्षदेखि विभिन्न सरकारी निकाय तथा नेताहरुको ढोका चारेर बजेटको व्यवस्था गरिएको थियो गत असारको दोस्रो साता सम्पन्न गरिएको यो पिच निर्माणका लागि गाविस, जिविस, सडक विभाग र स्थानीय जनश्रोतबाट जुटाएर करिब ५० लाख बराबरको करिब ५०० मिटर लम्बाइको पिच सम्पन्न गरिएको थियो । तर ठूलो महत्वकांक्षाको यो बाटो प्राविधिक गडबडिका कारण समस्याग्रस्त बन्न पुग्यो । यतिखेर ५०० मिटर पिचको अधिकांश क्षेत्र चिरिएको छ भने धेरै ठाउँमा पिच धसेको छ । त्यसैगरी करिब ५ ठाउँमा पिच उप्किएको छ ।

 

निर्माण उपभोक्ता समितिका सचिव डिल्लि न्यौपाने केही प्राविधिक कमजोरी र यस वर्षको भीषण वर्षाका कारण यो बाटो हालत विग्रिएको भन्दै उपभोक्ता समिति यसको जिम्मेवारी लिँदै मनसुन सकिनासाथ पिचलाई व्यवस्थित गरिने बताउँछन् । उनले प्राविधिकहरुसँग कुराकानी भैसकेको र यो पिच यस्तो हुनुमा पिच गर्ने वित्तिकै पानी परेकोले विटुमिन सेट हुन नसकेर यस्तो भएको निक्र्यौल निकालेको बताए ।

 

_MG_5577यो बाटो पिच हुन तयार भैरहेको बेला असारको पहिलो हप्ता पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी अध्यक्ष भएको निजी पानीको श्रोतलाई पाइपमार्फत यही बाटो लग्ने कार्य भएको थियो । यही पाइप विछ्याउनका लागि खाल्टो खनिएको अधिकांश ठाउँमा अहिले बाटो धसेको छ । डिल्लि न्यौपाने भन्छन्, समाजमा चिनिएका मानिसले यो बाटोबाट पाइप लान्छु भन्दा नाईं भन्न नसकिएकोले अहिले त्यही कारण बाटो विग्रिएको आभास भएको छ ।

बाटो पिच गर्न पूर्व करिब पन्ध्र हजार खर्च गरेर पिच गर्ने सामग्रीको गुणस्तरका बारेमा ल्याब टेष्ट समेत गरिएको थियो भने नेपालमा सबैभन्दा राम्रो भनिने हिन्दुस्तान आइलको विटुमिन प्रयोग गरिएको थियो । बाटो पिचपश्चात जिविसका डिइले पिचको गुणस्तरीयताको बारेमा प्रंशसा गरेको बताउँछन् सचिव डिल्लि न्यौपाने । पिच गरिएको एक दुई दिनमा नै गह्रुंगा ट्रकहरु यो उकालो बाटो भएर गुडेका कारण पनि बाटो बिग्रिएको हुनसक्ने निर्क्योल निर्माण समितिले लगाएको छ ।

निर्माण समितिका सचिव डिल्लि न्यौपाने
निर्माण समितिका सचिव डिल्लि न्यौपाने

यो बाटो यसरी बिग्रिसकेपछि निर्माण उपभोक्ता समितिको बैठक नबसे पनि अध्यक्ष रामप्रसाद अधिकारी र सचिवलगायत केही सदस्यहरुबीच अनौपचारिक भेटघाट र कुराकानीमा बाटोलाई जस्ताको तस्तै बनाउन छलफल भएको डिल्लि न्यौपानेले बताए । पिच गर्नका लागि भनेर उपभोक्ताबाट उठाइएको रकममध्ये अझै ८ लाख उठ्न बाँकी रहेको अवस्थामा फेरि विग्रिएको बाटोलाई राम्रो बनाउन ५ देखि ८ लाख खर्च हुने देखिन्छ । यो पैसा कसरी आउँछ भन्ने कुरामा डिल्लि न्यौपाने सामाजिक प्रतिष्ठाको लागि व्यक्तिगतरुपमा नै हालेर पनि बाटो जस्ताको तस्तै बनाउने बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।