कपनमा चार प्रमुख दलका अध्यक्षहरु कस्ता छन् ? कपनको विकास बारे उनीहरु के सोच्छन् ?

करिब ५० हजार जनसंख्या बोकेको कपनमा राजनीति गर्ने देशका ठूला दल एमाओवादी, नेपाली कांग्रेस, एमाले र माओवादीका कपन अध्यक्षहरु पनि शक्तिशाली र प्रभावशाली मानिन्छन् । काठमाडौं जिल्लाको क्षेत्र नं. ४ को राजनीतिमा सबैभन्दा ठूला प्रभाव कपनले नै राख्ने गर्दछ । यतिखेर कपनमा राजनीतिकरुपमा ७ दलहरु देखिए पनि प्रभावकारिताको हिसाबले देशका ठुला पार्टीहरु एमाओवादी, कांग्रेस, एमाले र माओवादी नै हावी छन् । आसन्न निर्वाचनमा यिनै पार्टीहरु बीच नै  घम्साघम्सि हुने पक्का छ । यी चार दलमध्येबाट एमाओवादीबाट शिव बजगाईं, नेपाली कांग्रेसबाट विनोद चालिसे, नेकपा एमालेबाट ध्रुवराज न्यौपाने र नेकपा–माओवादीबाट ध्रुवकुमार बस्नेतले आ-आफनो पार्टीका प्रमुखको हैसियतमा कपनमा काम गर्दछन् ।)

 

PHOTO 1कपनमा राजनीति गर्ने यी दलका प्रमुखहरु कस्ता छन् त ? कपनवासी धेरैले देखिरहेको अनुहार भए पनि उनीहरुको बारेमा थाहा नहुन सक्छ । साथैसाथै कपनको विकासमा उनीहरुको योगदान पत्तो नहुन सक्छ । यस विषयलाई जानकारी दिनका लागि कपन अनलाइनले चारै दलका प्रमुखहरुसँग एकसाथ बस्ने अवसार जुटायो । कपन अनलाइनसँगको भेटघाटका अवसरमा कपनको विकाससँग सम्बन्धित ६ वटा समान प्रश्नको उत्तर दिने क्रममा कपन २ स्थित इलेवन डाइमण्ड रेष्टुरेण्टमा सम्पादक केशव पाठकसँग भएको कुराकानीः

(साथमा कपन अनलाइनका आशिष गुरागाईं, नवराज भट्टराई, बद्रि भट्टराई, अशोकराज पाण्डे) (फोटोः राजुविक्रम थापा)

 

– परिचय

 

एमाओवादी कपन अध्यक्ष – शिव बजगाईं

PHOTO 5
एमाओवादी कपन अध्यक्ष – शिव बजगाईं

काभ्रे जिल्ला नयाँ गाउँ गाविसमा ०२७ सालमा जन्मिएका शिव बजगाइँले प्रारम्भिक शिक्षा यसै गाउँबाट शुरु गरेका थिए । सोही जिल्लाको नालामा रहेको उग्रचण्डी माविबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । ०४९ सालबाट एमालेको राजनीतिमा प्रवेशसँगै भएको स्थानीय निर्वाचनमा नयाँ गाउँमा वडाअध्यक्ष निर्वाचित भएका थिए । शिव बजगाइँ कपनमा ०५२ सालमा आएका हुन् । ०५६ सालमा एमाले फुटेपछि उनी माले भए । पार्टी एकिकरण पश्चात भने उनी एमालेमा फर्किएनन् माओवादी निकट बने । नेकपा माओवादीको पार्टी सदस्य भने उनी ०६१ सालमा मात्र भए । यद्यपि माओवादीको सक्रिय राजनीतिमा भने उनी गणतन्त्र पश्चात नै आएका हुन् । माओवादीमा सक्रिय भएपछि चाँडैनै उनले कपनको इन्चार्ज बनेर काम गर्ने जिम्मेवारी पाएका थिए । आफूलाई चाँडो रिसाउने मान्छे भन्न रुचाउने बजगाइँ अन्याय सहन नसक्ने स्वभावको बताउँछन् । यसै वर्ष भएको अधिवेशनबाट उनी एनेकपा माओवादीको कपन अध्यक्ष बनेका हुन् ।

 

 

नेपाली कांग्रेस कपन सभापति – विनोद चालिसे

PHOTO 3
नेपाली कांग्रेस कपन सभापति – विनोद चालिसे

कपन गाविसको वडा नं. ५ मा मजदुर तथा किसान परिवारमा जन्मिएका विनोद चालिसे हाल वडा नं. ६ मा बसोबास गर्छन् । सरकारी शिक्षक पेशामा संलग्न चालिसेले सामान्य प्रशासन विषयमा स्नातकोत्तर गरेका छन् भने समाजशास्त्र विषयमा स्नातकोत्तरको तयारी गरिरहेका छन् । विद्यालयमा अध्ययनकै क्रममा ०४६ सालको परिवर्तनको आन्दोलनमा होमिएको उनी जन्मजात कांग्रेस भएको बताउँछन् । ०४९ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरेर उनले विधिवत नेपाली कांग्रेश बनेका  हुन् । प्रजातान्त्रिक मान्यतामा विश्वास राख्दै विद्यार्थी राजनीतिमा सक्रिय हुने क्रममा चालिसे नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापति र  जिल्ला सदस्य समेत बने । त्यसैगरी विश्वभाषा क्याम्पसमा स्ववियुको निर्वाचनमा समेत भाग लिएका थिए । उनी ०५८ मा नेपाली कांग्रेसको आमन्त्रित क्षेत्रीय सदस्यसमेत बनेका थिए । राजनीति भनेका विचार, आस्था र समाजसेवा भएकोले यसलाई पेशा बनाउन नहुने बिचार राख्ने चालिसे छलछाम र लोभलाभको राजनीतिको विरोध गर्दछन् । आफ्नो स्वभावको बारेमा उनी केही भन्न चाहँदैनन् । उनी मेरो बारेमा त अरुले पो भन्ने हो भन्ने विचार राख्दछन् ।

 

 नेकपा एमाले कपन अध्यक्ष– ध्रुवराज न्यौपाने

DSC_0709
नेकपा एमाले कपन अध्यक्ष– ध्रुवराज न्यौपाने

ओखलढुंगा जिल्ला फुलबारी गाविसमा ०३७ सालमा सामान्य किसान परिवारमा जन्मिएका हुन् धु्रवराज न्यौपाने । ०४६ को परिवर्तनको संघारमा अवसरको खोजीमा काठमाडौं आइपुगेको न्यौपाने परिवार प्रजातन्त्रको आन्दोलनमा पनि सामेल भयो । शुरुमा महाँकाल पानी ट्यांकी केही वर्ष बसेपछि ०५१ सालमा उनको परिवार कपन भित्रिएको हो । ध्रुवराज न्यौपानेले कक्षा ६ देखि प्रवेशिका परीक्षासम्म महेन्द्र बौद्ध माविमा अध्ययन गरे । पशुपति कलेजबाट आइ कम पासगरेपछि उनले रत्नराज्य कलेजबाट ग्रामिण विकास विषयमा स्नातक गरेका छन् । कक्षा ८ देखि नै सानोतिनो काम गरेर अध्ययन गरेका न्यौपाने ०५४ सालमा भएको स्थानीय निर्वाचनबाट राजनीतितिर विशेष आकर्षित भएका हुन् । ०५४ सालकै हाराहारीमा उनी प्ररायुसंघको वडा अध्यक्ष बन्दै कपन गाउँ कमिटि सचिव बने । ०५६ सालमा नेकपा एमाले फुटेपछि उनी माले बने । ट्राभल तथा टुरिजम क्षेत्रलाई पेशा बनाएका न्यौपानेलाई बीचमा धेरैपटक तत्कालिन नेकपा माओवादी बन्ने अफरहरु आए पनि व्यक्ति हत्यालाई उनले चित्त बुझाउन सकेनन् । ०६२÷०६३ सालको आन्दोलनमा उनी १९ दिन नै सक्रिय सहभागि भए । ०६४ सालमा युवा संघको कपन अध्यक्ष भएपछि उनी फेरि राजनीतिमा सक्रिय बने ।  लगत्तै उनी कपन एमालेको सहसचिव बने । ०६६ सालमा कार्यवाहकरुपमा कपन एमालेको संयोजक बनेपछि उनी लगातर हालसम्म कपन एमालेका नेतृत्व गरिरहेका छन् । कमलो मनका ध्रुवराज न्यौपाने राजनीति भनेको समाजसेवाको उच्चतम विन्दु मान्दछन् ।

 

 नेकपा–माओवादी कपन इन्चार्ज – ध्रुवकुमार बस्नेत

PHOTO 4
नेकपा–माओवादी कपन इन्चार्ज – ध्रुवकुमार बस्नेत

रामेछाप जिल्ला देउराली गाविस वडा नं. १ भदौरेमा जन्मिएका ध्रुवकुमार बस्नेतले श्री सितलादेवी निमावि सिरुवारीबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । ०४६ सालमा कक्षा ६ मा पढिरहँदा राजनीतितिर आकर्षित भएका बस्नेत आफ्ना सुरुवाती गुरुको रुपमा देवशंकर पौडेल र गंगा कार्कीलाई मान्दछन् । कक्षा ८ मा पढिरहँदा अनेरास्ववियूको(एमाले) कार्यक्रममा “यो देशमा अब कुनै पनि राजनीतिक शक्ति छैन नयाँ शक्ति उदय भैसकेको छ” भन्ने आशयको भाषण गर्दा कांग्रेसपरस्त विद्यालय व्यवस्थापनले रामेछापकै साँघुटारको प्रहरी चौकीमा ३ दिन थुनेको घटनाले राजनीतिमा परिष्कृत भएर अगाडि बढ्ने प्रेरणा मिलेको बताउँछन् उनी । यही काण्डले उनी रातारात संगठनको जिल्ला सचिव भएका थिए । ०५४ मा एमालेबाट फुटेर माले बनेपछि मालेतिर लागेका बस्नेत पार्टी एकिकरणपश्चात माओवादीतिर ढल्किए । कपनमा आएपछि सेल कमिटि, बुथ कमिटिहुँदै उनी कपन गाविसमा २१ महिना नेकपा माओवादी पार्टीको सचिवको भूमिका निर्वाह गरे । पार्टी फुट्दा पनि उनले मध्यमार्गी धार समातेर सबैलाई मिलाएर जानुपर्छ भन्ने सोचमा धेरै कसरत गरे तर तत्कालिन पार्टीका केही व्यक्तिहरुका कारण उनी नेकपा–माओवादीमा लागे । यहि वर्ष भएको कपन अधिवेशनपछि उनी नेकपा–माओवादी कपनको इन्चार्ज भएका छन् । आफूलाई सादा जीवन उच्च विचारलाई जीवन मान्यता बनाएका बताउँछन् उनी ।

 

 

  • १. तपाईंले कपन गाविसमा विकास भन्नाले के बुझ्नुहुन्छ ?

 

PHOTO 5शिव बजगाईः    कपनमा अहिलेसम्म विकास भन्नाले बाटोघाटो नै हो । हिजो महाँकालमा जुत्ता खोलेर कपन आउनु पथ्र्यो । मैले महाँकालमा मोटरसाइकल राखेर धेरै पटक कपन आएको छु । अहिले बाटोघाटोकै कारणले कपन चिनिन योग्य भएको हो । ०६३ सालदेखि गविसमा प्रतिनिधित्व गर्दा पनि हामीले बाटोघाटोलाई नै पहिलो प्राथमिकता दिएका हौं । नयाँ बस्तिको विकाससँगै बाटो अपरिहार्य भएकाले पनि बाटो पहिलो प्राथमिकतामा परेको हो । कपनका करिब ८० प्रतिशत बाटाहरु पिच पनि भैसकेको छ । समयको परिवर्तनसँगै अब हामी बाटो मात्रै विकास हैन भन्ने सोचमा पुगेको छौं । अब हामी वातावरण, खानेपानी, पार्क, खेलमैदान आदिलाई पनि विकासको पाटोमा लैजाने कोशिसमा लागेका छौं । सरकारले पनि अहिले समाजका विभिन्न क्षेत्रलाई भिन्दाभिन्दै बजेटको व्यवस्था गर्न थालेकोले विकास अब बाटोमा मात्र केन्द्रित छैन ।

 

PHOTO 3विनोद चालिसेः   विकास भनेको बहुआयामिक विषयवस्तु हो । यसले आर्थिक, राजनीतिक, सामाजिक, भौतिक, सामाजिक सबै विषयबस्तुले सँगसँगै छोएर गएको हुन्छ । कपनमा जनघनत्व बढ्नु अघि र बढिसकेपछिको विकासको प्रसंग फरक खालको हुनु स्वभाविक हो । पहिला गाँस, बाँस र कपाससँगै मानिसहरु जुधिरहेको हुन्थे । भरपेट भोजन नै विकासको रुपमा अटेको थियो । ०५० सालपछि बाटोघाटो, सडक, पुलपुलेसा निर्माणलाई विकास भनिन थालियो । विकास एउटा निरन्तर प्रकृया हो, अब बाटोघाटोको राम्रो अवस्थासँगै खानेपानी, फोहरमैला, सामाजिक सुरक्षा, वातावरण, सांस्कृतिक संरक्षणजस्ता विषय पनि विस्तारै विकासको प्रकृया हो भन्ने नजर बन्न थालेको छ ।आजको अवस्थामा कपनमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले फराकिलो सोच्ने अवस्था आएको छ । प्रभावकारी विकासको पक्षमा अहिले हामी सोच्न थालेका छौं । विकासजति सबै फाँटमा मात्र देखिएको र माथिको भेकका मूलबाटोसमेत व्यवस्थित नभएको अवस्थामा सबैथरी विकासलाई गाविसका कुनाकुनामा पुर्याउनु आवश्यक पनि देखिएको छ ।

 

DSC_0709ध्रुवराज न्यौपानेः   विकास भन्नाले धेरै कुरा हुनसक्छ । कुनै विकास घरसम्म पुग्ने बाटो होला भने कुनै चाहिँ त्यहि घरमा बस्दा सबै कुरा राज्यले पुर्याइदिने सेवा विकास हो । हिजोको एक समयमा विकास बाटोघाटो केन्द्रित भयो होला तर आजको कपनले विकासलाई फराकिलो ढंगले बुझ्न थालको छ । मैले आफैले पनि धेरै पटक आवाज उठाएको छु । कपनमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरेर यहाँको वातावरणलाई प्रभावकारी बनाउन पर्ने आवश्यक्तालाई जोड दिएको छु ।अब विकासको ढाँचा परिवर्तन गर्न आवश्यक छ । अबको विशाल कपनमा खाली बाटो, ढल मात्र विकास भनिन हुँदैन भन्ने मान्यतामा हामी चलिसकेको छौं । शिक्षा, स्वस्थ्य, हावापानी आदिलाई विकासको मुलधारमा लैजाने चेतना हामी राजनीतिक दलहरुमा आइसकेको छ । भर्खरै हामीले कपनमा एउटा पार्क बनाउने भनेर ५ लाख रुपैंया विनियोजन गरेका छौं । हिजो बाटोको आवश्यक्ता थियो आज बाटोसँगै मानव जीवनलाई चाहिने धेरैकुरा विकासको दायरामा परेको छ ।

 

PHOTO 4ध्रुवकुमार बस्नेतः     विकास भन्नाले बाटोघाटो, पुलपुलेसाको विकासलाई मात्र लिइनु गलत हुन्छ । जस्तै क्रान्ति भन्नाले काटमार नै हो कि भन्ने लाग्छ, त्यस्तो होइन । रुपान्तरण र परिवर्तन गर्नु भन्ने अर्थमा बुझिनु पर्दछ जस्तो लाग्छ मलाई । शिक्षा, स्वास्थ्य र रोजगारको विषयसँग विकास जोडिएको हुन्छ । तर अझै हामी कपनवासी भने बाटाघाटा, ढलआदिलाई विकासको चरमविन्दु मान्ने भ्रम बढि छ । कपन गाविस अब ७६ जिल्ला जस्तो भएको छ । सबै वर्ग, जाति, भाषा र धर्मका मानिस अटाएको यो गाविसको विकास पनि समानुपातिक हुन आवश्यक छ । राजनीतिक दलहरु एक भएर जाने परम्परा बढेको अवस्थामा विकासलाई १ र ३ वडामा मात्र समेटिनु हुँदैन भन्ने मान्यता राख्दछु म । अरु ७ वटा वडाहरु पछाडि परिरहेका छन् । विकासचाहिँ अब माथिल्लो भेक केन्द्रित हुनुपर्यो । विकासलाई समानुपातिक रुपमा वितरण गर्नुपर्ने आवश्यक्ता छ ।

 

  • ३. कपन गाविसमा भैरहेको विकासको प्रकृया कत्तिको चित्तबुझ्दो लाग्छ ? के यो सिस्टममा भैरहेको छ ? छैन भने सिस्टममा ल्याउन के प्रयास गर्नु भयो ?

 

PHOTO 5शिव बजगाईं:       मलाई  कपनमा भैरहेको विकास प्रकृयाप्रति खासै चित्त बुझेको छैन । हाम्रो राजनीति गर्ने शैली नै ठीक छैन । लगभग ८ वर्षदेखि कपन गाविस सर्वदलीय संयन्त्रले चलाइरहेको छ ।  पार्टीगत रुपमा हामीले कपनको विकासमा एक रुपैंया पनि बाहिरबाट ल्याएर खर्च गर्न सकेका छैनौं । कपनमा यहाँका बासिन्दाले तिरेको करलाई कस्ले कता लैजाने भनेर झगडा गरेका छौं । हामीले यहाँका नवै वडा हाम्रा हुन् भन्ने धारणासम्म विकास गर्न सकेका छैनौं । विशेषगरेर माथिल्लो क्षेत्रका मानिसहरुमा सबै विकास गाविसले वा राज्यले गरोस् भन्ने धारणा र आफूचाहिँ केही नगर्ने धारणाले पनि विकास प्रकृया चारैतिर फैलिन नसकेको हो । अबको प्रयास भनेको विकासका लागि हामीले राख्ने धारणा परिवर्तन गर्नु हो ।

 

PHOTO 3विनोद चालिसेः      हाल कपनमा भएका विकासका कार्यहरु कतिपय अवस्थामा ठीक भएन कि भन्ने लाग्दा लाग्दै पनि यसलाई सन्तोषजनक मान्न पर्ने अवस्था छ । पहिला सिस्टममा विकास हुन नसकेको होला तर यसलाई पनि विकासको सिकाई बुझेर सिस्टममा ल्याउनु नै बुद्धिमानी हुन्छ जस्तो मलाई लाग्छ ।  अब सरकारले पनि जनसहभागिता, समावेशिता र  सहजिकरणका कुरा अगाडि ल्याएको बेलामा योजना छनौटमा हामीले विचार पुर्यायौं भने अब विकास सिस्टममा आउन गारो छैन । त्यसको साथै कार्यान्वयनको पक्षमा पनि हामीले ध्यान दिनु आवश्यक छ ।

 

DSC_0709ध्रुवराज न्यौपानेः      कपनमा भैरहेको विकास निर्माणको प्रकृयाप्रति सन्तुष्ट नै छु । कपन गाविसमा हिजो जनप्रतिनिधि हुँदाखेरी हाम्रो पार्टीले नेतृत्व पनि गर्यो त्यसपछि पनि गाविसमा सर्वदलीय संयन्त्रको हैसियतमा पार्टीले प्रतिनिधित्व गरेको हुँदा यहाँको विकास निर्माणमा हामीले जिम्मेवारी लिनु पनि आवश्यक छ । यद्यपि भएका सबै कुरा ठीक गर्यौं वा भयो भन्ने चाहिँ होइन । विकासका परिभाषा भनेको समयसँगै परिवर्तित हुन्छ । हिजो हामीलाई ढल र बाटोको आवश्यक्ता थियो त्यहि अनुसारको विकासमा हामी केन्द्रित भयौं । आज पनि ती कुराको महत्व कम भएको हैन तर आवश्यक्ता अरु विषयतिर पनि केन्द्रित भएको हो । योजनाबद्ध विकासतिर जान आवश्यक छ ।

 

PHOTO 4ध्रुवकुमार बस्नेतः       विकासलाई सिस्टममा ल्याउन सबैभन्दा पहिले नीति नियम राम्रो हुनुपर्यो । आज हामीले मात्र हैन सबै नेपालीले भनेको कुरा यो देशमा कानुन छैन । कानुन नभएको अवस्थामा स्थानीय निकायमा भएका विकासहरु सही ढंगले लागु वा कार्यान्वयन हुन्छ भन्ने केही छैन । हामीले कपनवासी जनतालाई विकास देखाएर चित्त बुझाउन सकेको अवस्थामा छैनौं । बजेट विनियोजन गर्दा कुन ठाउँमा विनियोजन गर्दा ठीक होला भन्ने अध्ययनसमेत गर्न सकेका छैनौं । फाँटका प्रतिनिधिले माथिको क्षेत्रलाई र माथिकाले तलकालाई मेरो भन्ने विचारको विकास बिना विकास सिस्टममा आउँदैन । अहिलेको राजनीतिक संयन्त्रले विकासलाई सिस्टममा लैजान प्रयास गर्न आवश्यक छ ।

 

  •   ४. श्रावण ४ गते अपरान्ह १ घण्टामात्र आएको ठूलो पानीले कपनका फाँटका कतिपय क्षेत्रमा तनाव उत्पन्न भयो । विकासका नाममा भएका खोलालाई ढलमा परिणत गर्ने काम के ठीक थियो ? यसको जिम्मा कसले लिने होला ?

 

PHOTO 5शिव बजगाइँ:      हेर्नुस्, हत्केलाले सूर्यलाई छेक्न सकिन्न भनेजस्तै प्रकृतीलाई कसैले रोकेर रोक्न सक्दैन । मैले कतिपय खोलाछेउका जग्गामा ढल हाल्ने अभियान कर्तासँग झगडा पनि गरेँ । शिव बजगाइँले आफ्नो घर भित्र भएकोले हाम्रो विरोध गर्यो भन्ने लाञ्छनासमेत लगाए । पानी कति पर्छ हामीले मूल्यांकन गर्न विषय नभएकोले यो अत्यन्तै गैरजिम्मेवार काम भयो । त्यतिखेर कसैले रोक्न पनि सकिएन  । श्रावण ४ गते दिउँसोको पानी अरु आधा घण्टा थपिएको भए कपन दार्चुला हुन्थ्यो । यही पानीका कारण बाटोका पिचहरु तहसनहस भएको छ । कपनको समस्या नै के हो भने कसैले दुई रोपनी जग्गा प्लटिङ्ग गर्छ तर साँढे दुई रोपनी जग्गा बेच्छ । खोला तथा सार्वजनिक जग्गा उपयोग गर्ने भूमाफियाहरुबाट सिर्जित यो समस्याको बिरोध अझै कतैबाट भएको छैन । यही कारणले गाविसमा आयश्रोत पनि बढिरहेकोले गाविस पनि नकारात्मक हुन सकेको छैन । राज्यको नीति गतिलो नभएकोले यो समस्या आएको हो ।

 

PHOTO 3विनोद चालिसेः      भनिन्छ, विकाससँगै विनास शुरु हुन्छ ।  श्रावण ४ गते भएको वर्षाबाट उत्पन्न समस्या भनेको उतिबेला विकास भनेर गरिएको कामको सम्भावित क्षतिको विश्लेषण नगर्नाले भएको हो । दोषि को ? वा कमिकमजोरी कस्को ? भन्ने कुरामा मलाई लाग्छ गाविसले स्वीकृति दिएर नै यो काम भएको हो । गाविसको कमजोरी सबैभन्दा पहिला आउँछ । जनप्रतिनिधि छँदैमा दिएको भए उनीहरुको र पछि दिइएको भए कुनै न कुनै रुपमा रहेका सर्वदलीय समितिको कमजोरी हो यो । भोलिको क्षतिको बारेमा नसोच्नु र आवाज उठाउन नसक्नु ठूलो कमजोरी हो । भूमाफियाको चलखेलमा राज्यको स्थानीय निकाय प्रभावित भएर यस्तो नतिजा निक्लिएको हो । खोलामात्र हैन यहाँ सार्वजनिक जग्गा मिचेर पनि ल्पटिङ्ग गरिएको छ । आर्थिक चलखेलले नै यो समस्या सिर्जिएको हो । जनताको तर्फबाट एउटा पनि यस्तो काम हुनु भएन भनेर आवाज नआउँदा पनि यो समस्या आएको हो । जनताको तर्फको कमजोरीले राजनीतिक दलहरु प्रभावित हुन पुगेको हुन् । यो समस्याले हामीलाई पाठचाहिँ पढाएको छ । अबका दिनपछि यस्ता समस्या नहुन हामीलाई सचेत बनाएको छ ।

 

DSC_0709 ध्रुवराज न्यौपानेः     श्रावण ४ गतेको पानीले परेको प्रभाव मैले पनि देखेँ । पैयुँटारबाट आउँदा बाटो हिँड्न नसक्ने अवस्था थियो । विकासका नाममा भएको यस्ता कामको जिम्मा कसले लिने भन्ने कुरा गारो छ । यो देशमा जिम्मा कसले के को लिएको छ र ? हिजो गाउँबाट विस्थापित भएर केही मानिस सहर पसे । सस्तो जग्गाको लोभमा खोला किनारका जग्गा किने । उसले आफूलाई विकसित बनाउन बाटो खोज्यो अनि बाटोको उपयुक्त रोजाई खोलोलाई ढल बनाएर उपयोग गर्यो उसले । त्यसैले सबैभन्दा जिम्मेवार त्यो मानिस स्वयम् हो जो खोलोलाई ढल बनाउन राजी भयो । यो एउटा मानिसले गरेको काम होइन । एउटा बस्तिले नै गरेको काम भएकोले सबैभन्दा ठूलो जिम्मेवार ती मानिस हुन् जो खोला किनारमा घर बनाएर बस्छ । हामी मलाई फाइदा हुन्छ भने जे पनि गर्ने भैसकेका छौं । मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ भन्ने जस्तो भैसक्यो हाम्रो समाज । कसलाई दोष दिने ? हाम्रो प्रवृत्ति नै दोषि हो । हामी राजनीतिक दलले पनि  त्यसको बिरोध गरेनौं वा त्यसलाई राकेनौं हाम्रो पनि दोष रह्यो । योजनाबद्धरुपमा विकासका खाका नकोरिनुका कारण आएका समस्या हुन् यी ।

 

PHOTO 4ध्रुवकुमार बस्नेतः      हिजो एउटा समय जग्गाको भाउ चरमचुलीमा पुगेको बेला जग्गाको भाउ बढाउने नाममा खोलालाई बाटोको रुपमा निर्माण गरेर फाइदा लिने काम गरे । हिजो जसले यो काम गरेर जग्गाको भाउ बढायो ऊ त बेचेर गइहाल्यो तर अहिले जो यस क्षेत्रमा बसिरहेको छ उसलाई परिरहेको छ समस्या । कपनमा धेरै खोलामा यस्तो काम हुनपुग्यो । यसको जिम्मेवारी कसले लिने भन्ने कुरा गारो छ । राज्यले पनि यतिखेर राजकुलोलाई कच्चि मोटरबाटोमा परिणत गर्ने भनेर निर्णय गरेकोले यो विषय गारो बन्न गएको छ । सार्वजनिक खोलालाई के गर्ने हो भन्ने कुरा त सबैभन्दा पहिले  स्थानीय निकायको भन्दा पनि राज्यको हो नि । राज्यसँगै गाविस र टोलसुधार समितिले यसको जिम्मेवारी लिनु पर्ने देखिन्छ ।

 

  • ५. सहरजत्तिकै घर र जनसंख्या भएको कपनमा केही त्यस्ता कुरा छन् जसले तपाइँलाई  दिक्क लगाउँछ ।

 

PHOTO 5 शिव बजगाइँ:     मलाइचाहिँ यहाँ भएका विकास निर्माणका कार्यले नै बढि दिक्क लगाउँछ । हिजो जे चिजलाई हामी विकास भनिरहेका थियौं आज त्यहि हाम्रो टाउको दुखाई बन्दै गएकोमा म दिक्क छु । मोटरसाइकलले बाटोमा जाम हुने सडक छन् हाम्रा । दुई हात बाटो मिच्न पाए हुन्थ्यो भन्ने प्रवृतिले बनेका घर छन् हाम्रा । हामी स्वयम् पनि दिक्कका भागिदार भइरहेका छौं । दीर्घकालिन सोचबिना बनाइएका धरोहर जसलाई हामीले अहिले विकास भनिरहेका छौं यी सब दिक्क लाग्ने साधन भएका छन् आज ।

 

PHOTO 3विनोद चालिसेः       कपनको जनघनत्वको बृद्धिपछि विकास र विकासको प्रकृयालाई व्यवस्थापन गर्न सकिएन जस्तो लाग्छ । हामीले हाम्रो मानसिकता, विचार, दृष्टिकोण, संस्कारलाई परिवर्तन गर्न नसक्नाले पनि विकासलाई व्यवस्थापन गर्न नसकिएको हो । हामी कुरा एउटा र काम अर्काे गर्नै प्रवृतिको सूचक बनिसकेका छौं । हामीमा हाम्रो भन्दा पनि राम्रो कुरालाई प्रोत्साहन गर्न नसक्ने बानी आदिले मलाई दिक्क लगाउँछ । अनि वास्तवमा आफूले सोचेको र चाहना गरेको कुराहरुलाई कपनमा राजनीति गर्दैगर्दा कार्यान्वयनको तहमा लैजान सकिएन कि भन्ने कुराले पनि दिक्क लगाउँछ ।

 

DSC_0709 ध्रुवराज न्यौपानेः       कपनमा दिक्क लाग्ने कुराहरु धेरै छन् । साना साना बाटाहरु छन््,  बच्चा खेल्ने ठाउँ छैन, पार्क छैन । दिक्क लगाउने कुराहरु धेरै छन् । सडकमा निर्माण सामग्री राखेका हुन्छन्, बाटामा सानातिना व्यवसाय गरिरहेका हुन्छन् यस्तै कुराहरुले दिक्क लगाउने त हो नि । सहरीकरण भयो जनसंख्या बढ्यो तर खानेपानीको हाहाकार छ । हिजोको सानातिना खानेपानीका श्रोतहरु सबै सुकेका छन् । मानिसहरु स्वार्थी भएको यो भीडमा म पनि त्यहि समाजको पात्र भएता पनि मैले चारैतिर चित्त दुखाउने कुराहरु देख्छु ।

 

PHOTO 4ध्रुवकुमार बस्नेतः     विशेष गरेर कपन गाविसमा रहेका राजनीतिक दलहरुले जनतासँग सहकार्य गर्न नसक्नु सबैभन्दा ठूलो दिक्क लाग्ने कुरा हो । श्रावण ४ को पानीले गरेको सामान्य नतिजाले पनि मलाई दिक्क लगायो अब यो विषय जानीनजानी कपनमा हरेक वर्ष दुःख बनेर बज्रिरहने छ । हिजो बनाइएका बाटाघाटा, पुलपुलेसा १० वर्ष नपुग्दै साना र अर्थहिन बनिसकेका छन् । यति ठूलो जनघनत्व भैसकेको कपनमा वातावरणीय हिसाबले खासै केही काम हुन सकेको छैन । तल्लो बस्तिमा एउटा हरियो रुख देख्न पनि गारो पर्छ भन्ने अवस्था आएको छ अनि सार्वजनिक जग्गााहरुलाई चाहिँ विभिन्न संघ संस्थाले हानथाप गरेर घर बनाइरहेका छन् । यस्ता तमाम चिजले  दिक्क लगाउँछ ।

 

  • ६.अबको १० वर्षवछिको कपन कस्तो होला ? तपाईले यतिखेर नेतृत्व गरिरहँदा तपाईलाई के गर्दा भोलिका कपनलाई सुन्दर बनाउन सकिन्छ जस्तो लाग्छ ?

 

PHOTO 5शिव बजगाइँ:        पहिले त विकासको नीति नियम बनाउनु पर्यो । अबको दश वर्षमा के गर्ने भन्ने कुराको रणनीति आजैदेखि बनाउन सकियो भने केही राम्रो बन्ला । हामीले आज गरेका कार्यलाई भोलि हामीपछि राजनीतिमा पदार्पण गर्ने राजनीतिक कार्यकर्ताले सूचारु गर्नु पर्यो । विश्वले चिन्ने कपन बनाउन सकिन्छ जस्तो लाग्छ मलाई । हाम्रो देशमा एउटा अर्थमन्त्रिले ल्याएको कुरालाई अर्काे अर्थमन्त्रिले काटिदिने काम हुने गरेकोले आज हामीले गर्न खोजेको कुरालाई भोलि हामी पछिकाले नकाटिदेओस् भन्ने नै मुख्य कुरा हो । अबको दश वर्षपछि देशभरीकाले एकपटक कपन जाउँ न भनेर भन्ने खालको कपन बनाउन सकिन्छ । कपन गढीजस्ता पौराणिक कुरालाई प्रचारप्रसारमा लगेर यहाँको महत्वलाई बढाउन सकिन्छ । साँघुरा बाटाहरुलाई ठूला बनाएर तथा पर्यटकलाई तान्ने काम गरेर कपनलाई हाम्रो कपन राम्रो कपन बनाउन सक्छौं ।

 

PHOTO 3विनोद चालिसेः   दश वर्षपछिको कपन परिकल्पना गर्दा समुन्नत कपन तथा सुसंस्कृत कपन हुनु पर्छ भन्ने हो । यसका लागि यहाँ भएका सांस्कृतिक धरोहरहरुलाई संरक्षण गर्नुपर्यो । अहिले भएका विकासका संरचनालाई जोगाउनु पनि आवश्यक छ । हामीमा भविष्यपरक दृष्टिकोण र समावेशी ढंगको साझा कपनको मान्यता हुनु पर्यो । विकास सबै क्षेत्रमा र सबैमा भन्ने मान्यता विकास हुन पनि आवश्यक छ । यहाँका सबैका भावना र चाहना साथै कपनको संभावनालाई एकिकृत गर्दै विकासतिर अगाडि बढ्नुपर्ने जस्तो लाग्छ मलाई । यहाँ भएका सार्वजनिक जग्गालाई पार्क एवम् हरियाली क्षेत्रको रुपमा विकास गर्नु, गाविसबाट हुने विकासका कार्यहरुलाई राम्रो र प्रभावकारी बनाउन दरिलो नीति नियम हुनुको साथै अनुगमन र मूल्यांकन गर्ने कामलाई दुरुस्त बनाउन सकियो भने समुन्नत कपनतिरको हाम्रा पाइला अगाडि बढ्दछ ।

 

DSC_0709ध्रुवराज न्यौपानेः     कपनलाई साँच्चिकै समृद्ध बनाउने हो भने पहिले त शिक्षाको क्षेत्र विकाससँगै शतप्रतिशत साक्षरहुँदै शतप्रतिशत शिक्षिततिर हाम्रो पाइला अगाडि बढ्नुपर्छ । त्यसैगरी हरेक वडाका सार्वजनिक जग्गाहरु संरक्षण गरी खेलमैदान वा पार्क बनाउनु पर्छ । कपनलाई सुरक्षित बनाउनु पर्ने कुरा पनि महत्वपूर्ण हो । त्यसैले कपन प्रहरीलाई अझै प्रभावकारी बनाउनु साथै हामी जनतामा पनि गलत काम गर्नु हुन्न भन्ने धारणा विकास हुनु वा गराउनु आवश्यक छ । हामीमा ओभरहेड ब्रिजमा गएर आची गर्ने प्रवृति छ । पहिले त हामीमा रहेको यस्ता प्रवृतिलाई हटाउनु पर्यो । अहिले चेरीको कार्यक्रम कपनमा लागु भएको छ यस्ता कामहरुलाई प्रभावकारिता हेरेर दीर्घकालिन बनाउनु पनि दशवर्षपछिको हराभरा कपनको योजनाभित्र पर्दछ । कपनमा रहेका गुम्बा, मन्दिरमात्र हैन कपनसँगै रहेको राष्ट्रिय शहिदपार्कलाई हामीले फाइदाको विषय बनाउन सक्नुपर्छ । कुनैदिन विदेशी राष्ट्र प्रमुख नेपाल आयो भने सिधै यही पार्कमा आउनेछन् । यो अवस्थालाई अवसरको रुपमा हामीले विकास गर्नुपर्यो । यसका लागि सुरक्षा तथा बाटोघाटोको कुरा सबैभन्दा पहिला उठ्न सक्ला यसलाई हामीले अहिलेदेखि नै योजना बनाएर जान सकियो भने हामी राम्रो कपनको दिशातिर पाइला टेक्नेछौं ।

 

PHOTO 4ध्रुवकुमार बस्नेतः      दश वर्षपछि कपनलाई राम्रो बनाउन पर्छ भन्ने कुरामा यहाँका राजनीतिक दलहरुमा विमति हुने कुरा भएन । तर कपनलाई कसरी अगाडि बढाउने भन्ने कुराको हात कपन गाविसको हातमा मात्र हुँदैन । यहाँका आम जनसमुदाय, बुद्धिजीविलगायत संघसंस्थाहरुको हात हुने गर्दछ । त्योभन्दा पनि ठूलो कुरो राज्यले ल्याउने नीति नियमसँग सबैजना बाँधिने भएकाले विकाससँग सरकारको सबैभन्दा ठुलो हात रहन्छ । देशमा रहेको राजनीतिक संक्रमण यस्तै रहने हो भने हामीले सोचेको जस्तो कपन नहुन पनि सक्छ । देशको हालतले योभन्दा नराम्रो कपन पनि हुन सक्छ । तर हामी आशा गरौं राज्यले स्थानीय निकायलाई अझै समुन्नत बनाउने नीति तथा कार्यक्रम ल्याउनेछ र हामी गाविसस्तरमा त्यसलाई समुन्नत किसिमले कार्यान्वयन गर्न पाउँनेछौं । दश वर्षपछि यहाँ विशाल खानेपानीको व्यवस्था होस्, विश्वविद्यालय होस्, हस्पिटलहरु हुन्, खेलमैदानहरु हुन् भन्ने विषयमा हामी त अगाडि बढिरहेका नै छौं ।

 

  • ७. तपाईहरुले यतिखेर गाविसमा नेतृत्व गरिरहँदा यो कार्यकाल कपनका इतिहासमै सुवर्ण कार्यकाल हुनु पर्ने होइन ? कि सुवर्ण कार्यकाल नै हो ?

 

PHOTO 5शिव बजगाइँ:     सुवर्णकाल बनाउनु पर्छ भन्दा पनि हाम्रो कार्यकाल सुवर्णकाल हो र भैसकेका छौं । हामी हिजो जुत्ता खोलेर कपन आउनु पथ्र्याे आज घरघरमा मोटर लिएर छिर्छौं । मेरो भनाई केहो भने अहिलेको कपनको समाज कपन गाविसबाट सन्तुष्ट हुनसक्नुपर्छ । समस्याहरु बिस्तारै समाधानतिर लागिरहेका छन् । खानेपानीकै पनि तीनवटा योजना कपनमा चलिरहेका छन् । मिडियाको विकास भएको छ । हिजो शिव बजगाई नचिन्ने मानिसले आज शिव बजगाइँले यसो भनेछ भनेर हेर्न पाउने अवस्था भएको छ । कपन अनलाइनप्रति अभार पनि प्रकट गर्दछु । आफ्ना गरेका सबै काममा सन्तुष्ट त हुन सक्दिन म पनि तर पनि कपन भएका हालका विकासका कार्यक्रमप्रति म सकारात्मक भएकोले यो कार्यकाल सुवर्ण नै हो भन्न चाहन्छु ।

 

PHOTO 3विनोद चालिसेः        यतिखेर कपन गाविसमा आफ्नो दलको हिसाबले प्रतिनिधित्व गरिरहँदा आफ्नो कार्यकाल सुनौलो बनाउनु पर्ने नै हो । अहिले कपन गाविसमा बाटोघाटो, शिक्षा, पर्यावरण वा विकासका जुनसुकै आयामका कुरा गर्दा यी कुराहरुलाई समयसापेक्षिक परिवर्तन गरेर समाजलाई रुपान्तरण गरी कपन गाविसलाई समृद्ध बनाउन मेरा पाइला अगाडि बढिरहेको छ । समुन्नत कपन बनाउन पर्छ भन्ने मान्यताका साथ लागिरहेको छु । यसका लागि अन्य राजनीतिक दलहरुसँगको सहकार्यलाई पनि प्रभावकारी बनाएको छु । हामी सबैले सकारात्क सोच बनायौं भने यो कार्यकाल सुनौलो पनि हुनेछ ।

 

DSC_0709ध्रुवराज न्यौपानेः       मैले विगत ५ वर्षदेखि गाविसमा आफ्नो पार्टीका तर्फबाट सर्वदलीयमा नेतृत्व गरिरहेको छु । यी समयमा भएका राम्रा नराम्रा सबैको जिम्मेवारी मेरो पनि हो । मेरो कार्यकालप्रति म पूर्ण सन्तुष्ट त छैन र पनि असन्तुष्ट पनि छैन । हामीले केही पृथक कामचाहिँ जरुर गरेका छौं । हाम्रै कार्यकालबाट सार्वजनिक जग्गा संरक्षण, खेलकुद तथा पर्यावरणका कुरामा बजेट छुट्याउन थालेको हो । खेलमैदान बनाउन बजेट छुट्याइएको अवस्था छ । सार्वजनिक शौचालय बनाउने कामको सुरुवात भएको छ । गाविसको नयाँ भवन निर्माणको काम पनि यही समयमा सुरु भएको छ । कपन महोत्सवले पनि यही बेला कपनलाई देश विदेशमा चिनाउने मौका प्रदान गर्यो यो पनि यही समयमा भएको छ । कपनमा सरकारीस्तरको बहुमुखी क्याम्पस यही बेलामा बन्यो । कपनका ७० प्रतिशत बाटाहरु पिच भएको छ । महिला सशक्तिकरणका क्षेत्रमा पनि धेरै काम भएका छन् यही बेलामा । प्रहरी चौकी भवन बनेको छ, इन्स्पेक्टरको दरबन्दिको पहल भैरहेको छ । यी सबै काम यही बेलामा भएको हो । कतिपय कुराहरु सिक्दै तथा परिमार्जित गर्दै पनि गैरहेका छौं ।

 

PHOTO 4ध्रुवकुमार बस्नेत :        सबैभन्दा ठूलो कुरा मेरो कार्यकाल सुवर्ण कार्यकाल हो भन्ने भन्दा पनि यहाँको जनताले यस कार्यकालमा सुनौलो अनुभव गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हो । मैले यस गाविसमा नेतृत्व गरिरहँदा मेरो कार्यकाल सुवर्ण कार्यकाल बनोस् नबनोस् त्योसँग मेरो पार्टीले सरोकार राख्ला मैलेचाहिँ अनुभुति गर्न पाउनुपर्यो मेरो कार्यकालमा यहाँ जनताले केही सुनौलो कुराहरु पाए भन्ने नै हो ।  अहिले कपन गाविसमा बजेट विनियोजन गर्दा कुनै पनि राजनीतिक दलहरुले नेतृत्व लिन सकेका छैनन् । यतिखेर कपन गाविसको विकास निर्माणको नेतृत्व गाविस सचिवले गरिरहेको अवस्था छ । यद्यपि अनुभवि सचिव भएका कारणले विकास निर्माणमा विनियोजित रकम सकारात्मक दिशातिर गएको छ र राजनीतिक दलहरुले प्रोफिट लिन पाएका छन् ।

तपाइँको प्रतिक्रिया ।