सामाजिक अडिटरले जोरधारा खानेपानीमा भ्रष्टाचार हुने गरेको आरोप लगाए

काठमाडौं उपत्यका खानेपानीका लागि समस्याग्रस्त क्षेत्र हो । थोपा थोपा पानीका लागि यहाँका मानिसहरुका मरिहत्ते गरिरहेका हुन्छन् । कपन गाविस पनि खानेपानीका लागि समस्याग्रस्त क्षेत्र हो । बढ्दो सहरीकरण तथा खानेपानीको कुनै स्थायी श्रोतको अभावमात्र हैन नेपाल खानेपानी संस्थाले बाँडेका पाइप लाइनबाट पनि पानी आउँदैन । खानेपानीको एकमात्र श्रोत भूमिगत पानीलाई आफूखुशी प्रयोग गर्नु काठमाडौंबासी तथा कपनवासीको एकमात्र जीवनधान्ने पानीको श्रोत हो ।
पानीको हाहाकारबीच कपनमा जोरधारा खानेपानी संस्थाले कपनको वडा नं. ३ र १ को केही भेकलाई भूमिगत पानीको ठूलो श्रोतबाट खानेपानी वितरण गरिरहेको छ । ६ वर्षअघि स्थापना गरिएको यस संस्थाले हाल ८०० घरलाई खानेपानी वितरण गरिरहेको छ । संस्थाको स्थापनाकालमा थोरैमात्र घर परिवारलाई पानी वितरण गर्ने र हरेक दिन पानी वितरण गर्ने योजनाका साथ सुरु गरिएको जोराधारा खानेपानीले हाल आफ्ना उपभोक्तालाई ३ दिनमा एकपटक पानी वितरण गर्ने गरेको छ ।
दिनबन्धु पोखरेललाई बोलाएर भागवत् पुराण लगाएर रकम जम्मा गरेर सुरु गरिएको यो आयोजनामा आवद्ध हरेक घरले धारा जोड्नका लागि शुल्क तिर्नु पर्दछ । हाल धारा जोड्नका लागि रु. २५,००० लाग्दछ भने मासिक रु. ३५० शुल्क लाग्ने गर्दछ । संस्थाले हाल डिप बोरिङ गरेर पानी वितरण गरिरहेको छ । हालै यस संस्थाले ४ लाख लिटरको पानी ट्यांकी बनाउने भनेर फेरि एकपटक भागवत् महायज्ञको सहारा लिएको थियो । तर मुक्तिनाथ बाबाको आशमा पर्दा आम्दानीभन्दा खर्च बढि भएका कारण विवादित भएको थियो । अझै भागवत् यज्ञमा लागेको खर्चको फस्र्यौट गर्न सकिएको छैन ।

जोरधारा खानेपानी संरक्षण आम्दानी एवम् आर्थिक हिसाब किताबमा विवादमा आएको यो पहिलो पटक हैन । आम्दानी एवम् खर्चको हिसाब पारदर्शि नभएको आरोपमा धेरै पटक यस संस्थाभित्र समस्या आइसकेको छ । ठूलो संस्था भएकोले केही केही कुरामा यस्ता समस्या आउनु नै सर्वथा भ्रष्टाचार भएको भन्नु त गलत होला तर संस्थामा आबद्ध व्यक्तिहरुले पारदर्शितालाई ध्यान दिनु सबैभन्दा ठूलो कुरो हो ।
यसैबीच जोरधारा खानेपानी संस्थामा लामो समय सामाजिक अडिटरको हैसियतमा कार्य गरेका गंगाबहादुर श्रेष्ठले कपन अनलाइनलाई जोरधारामा भएका अनियमितता बारेमा केही महत्वपूर्ण बुँदाहरु उपलब्ध गराएका छन् । श्रेष्ठले हस्ताक्षरसहित कपन अनलाइनलाई उपलब्ध गराएको रिपोर्टमा ९ वटा बुँदाहरु रहेका छन् । उनले दिएका बँुदाहरु पहिला पनि विभिन्न समयमा उठिरहेका विषय भए पनि संस्थामा लामो समय सामाजिक अडिटर भएका बसेका व्यक्तिले नै यस किसिमको समस्या रहेको बताउँदा संस्था स्वयम्लाई भने दीर्घकालिन असर पर्न सक्छ ।

यद्यपि गंगाबहादुर श्रेष्ठ स्वयम्को छवि पनि त्यति गतिलो देखिदैन । नेकपा एमाओवादीका तर्फबाट सामाजिक अडिटरको भूमिकामा नियुक्त भए पनि उनले विभिन्न समयमा करिब रु. २५००० नगद जोरधारा खानेपानी संस्थाबाट लिएको देखिन्छ । अडिट गर्दापिच्छे पैसा माग्ने गरेकाले जोरधारा परिवार मात्र नभई सामाजिक जीवनका केही व्यक्तिहरु पनि उनको यो प्रतिवेदनलाई जोरधाराले पैसा नदिएपछि लगाइएको आरोप मान्दछन् ।

गंगाबहादुर श्रेष्ठले कपन अनलाइनलाई हस्ताक्षरसहित उपलब्ध गराएको प्रतिवेदन ः

जोरधारा खानेपानीको गतिबिधि स्थापनाकालदेखि कै अनियमितताको जगमा अडेको छ । संस्थागत सबै कार्यहरु व्यक्तिगत निर्णयबाट हुने गरेको छ । त्यसैले यस संस्थामा आजसम्म जति पनि आम्दानी तथा खर्च भएको छ त्यो पूर्णतः व्यक्तिगत ढंगले चलेको छ ।

१. जनतालाई पानी खुवाउने उद्धेष्यले गरिएको यो काम स्वागतयोग्य काम हो । तर यस संस्थाका मुख्य व्यक्तिहरु भनेर चिनिएको के.बि मरहट्ठा, नारायण आचार्य र डिल्लि प्रसाद ढकाल नाम गरेका ३ जनाले उपभोक्तालाई गुमराहमा पारी जति पनि उठेका रकम(धारा जोड्दा, मासिक शुल्क, थप पानी)बैंक मार्फत कारोवार नगरी मनोमानी काम गरिरहेका छन् । मासिक ४ देखि ५ लाख डिल्लि ढकालको निजी घरमा राखेर जोरधाराको काम गरिरहेका छन् ।

 

२. ०६७ फागुन मसान्तभन्दा अगाडि उपभोक्ताबाट रकम असुली गर्दा रसिदको रकम एकाउण्टमा नलेखी जति दिए पनि नगदै राख्ने गरेका थिए ।

 

३. कुनै पनि सामान खरिद गर्दा प्रतिस्पर्धाको आधारमा खरिद गरिएको पाइँदैन । ठूला ठूला निर्माणको कार्यमा पनि प्रतिस्पर्धा गरिएको पाइँदैन ।

 

४. संस्थागत रुपमा खर्च आम्दानी गर्दा रु. ५००० भन्दा माथिको भ्याट बिल हुनुपर्ने पर्नेमा जतिसुकै ठूलो काम पनि भ्याट बिल बिनानै गरिरहेको अवस्था छ । ठूलाभन्दा ठूला बिल पनि सामान्य बिलबाट फस्र्यौट गर्ने परिपाटी रहेको छ । तर त्यहि सामान्य बिल अनुसारको सामान प्राप्त भएको वा नभएको भन्ने लगत भने राखिएको छैन ।

 

५. संस्थागत व्यवहार गर्दा लेखा प्रणाली दुरुस्त हुनुपर्नेमा बिना खरिद आदेश, बिना बजार अनुगमन सामन खरिद गरिएको छ । त्यसैगरी सामान प्राप्तिको प्रमाण(जिन्सी खाता) मा सामानको बिबरण लेखिने पनि गरिएको छैन । एकलौटी तीनजना(के.बि.मरहट्ठा, डिल्लि ढकाल र नारायण आचार्य) मौखिक आदेशमा सम्पूर्ण व्यवहार हुने गरेको छ ।

 

६. संस्थाको आम्दानी खर्च हरेक महिना सार्वजनिक गर्ने र अनुमोदन गर्ने भन्ने माइन्युट गरिए पनि त्यस किसिमको कार्य हुने गरेको छैन ।

 

७. साधारणसभामा देखाइने हिसाब पूर्णतः हचुवाको आधारमा देखाइने गरिएको छ । साधारणसभामा देखाइने हिसाबमा चरम लापरबाही हुने गरेको छ ।

 

८. ०६८ ०६९ मा पनि एकलौटी ढंगले व्यवहार गरिएको पाइयो । प्रकृयागत ढंगले खर्च तथा आर्थि प्रवाह गरिएको छैन ।

 

९. ०६७ ०६८ को सामाजिक अडिट गर्नु पूर्व हिसाब किताबमा देखिएको चरम लापरवाहीले संस्था व्यापक ऋणमा डुबेको थियो । ०६७ फाल्गुणदेखि अडिट हुने प्रणाली विकसित भएयता एकाउण्ट सिस्टम ठीक देखिए पनि अरु विभिन्न समस्या यथावत रहेकोले यथासिघ्र सम्बन्धित निकायबाट छानविन गरी यस्ता भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ । सोझा सिधा उपभोक्तामा परेको मर्काप्रति न्याय दिलाउन समेत अनुरोध गर्दछु ।

 

यस सम्बन्धमा गंगाबहादुर श्रेष्ठले आरोप लगाएका व्यक्ति तथा जोरधारा खानेपानी संस्थाको संरक्षक के.बि मरहट्ठाले सबै जनालाई जोरधारा आएर सबै हिसाबकिताब बुझ्न आग्रह गर्दछन् । मरहट्ठा अगाडि थप्छन्, कहिँ कहिँ प्रकृयागत त्रुटि भएका होलान्, तर त्यसलाई भ्रष्टाचार भन्नु उनको कुण्ठित मानसिकता हो । जोरधाराले उनलाई मासिक पैसा तिरेर राखेको भए उनले राम्रो भन्थे तर त्यसो नगरेकोले यो आरोप लगाएका हुन् ।

भर्खरै जोरधारामा उपाध्यक्ष बनेका मुरारी भण्डारी पनि गंगा बहादुरको पैसा कमाउने मानसिकता विथोलिएपछि आएको आवेश बाहेक यो प्रतिवेदनमा केही छैन भन्छन् । भण्डारी अगाडि थप्छन्, हामीले अरु कुनै सामाजिक अडिटरलाई पैसा दिएका छैनौ तर यिनले पटकपटक पैसा लिएर हामीलाई दुःख दिएका छन् ।

जोरधारा खानेपानीका उपभोक्ता पनि रहेका ने.का. कपनका उपसभापति टंक सापकोटासमेत गंगाबहादुर श्रेष्ठले लगाएको आरोप निरर्थक रहेको बताउँछन् । सापकोटा भन्छन्, त्यस्तो समस्या थियो भने अहिलेमात्र किन यो कुरा गरेका त ? हिजो जोरधाराले पैसा दिँदा त यो कुरा बाहिर आएन । जोरधारामा केही समस्या छन् तर गंगाबहादुर श्रेष्ठका आरोपचाहिँ उपभोक्ता भड्काउने काम मात्र हो ।

तपाइँको प्रतिक्रिया ।